सुनसरी - नेपाली कांग्रेस प्रचार विभाग प्रमुख एवंम केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकको बिरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न धरानमा प्रेस युनियन सुनसरीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले राष्ट्रपतिले संसदीय सर्वोच्चता र संवैधानिक सर्वोच्चताको सम्मान गर्दै प्रमाणीकरण गरेको विधेयकलाई लिएर गलत तरिकाले परिभाषित गर्न खोजिएको बताए ।
लामो प्रतिक्षापछी जारी भएको नागरिकता बिधेयकले सर्वत्र हित गरेको भन्दै उनले यसको गलत प्रचार नगरिदिन संचारकर्मीमाझ आग्रह समेत गरेका छन् । नेता विश्वकर्माले विदेशी नागरिकलाई नागरिकता दिन लागेको भनेर गलत प्रचार गर्न नहुने बताउदै बैवाहिक अंगिकृत र अंगिकृत नागरिकलाई विधेयकले नछोएको दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्न तुक नभएको उल्लेख गर्दै उनले अध्यादेश मार्फत् यही विधेयक एमालेले ल्याउन खोज्दा दूरगामी महत्वलाई असर पर्ने गरी निणर्य नगर्न ससदबाट पारित गरेर ल्याउनु भनेर अदालतले आदेश दिएको बताए ।
आफैं प्रस्ताव गर्ने संसदमा उपस्थित नहुने एमालेले दोहोरो चरित्र देखाएको नेता विश्वकर्माले आरोप लगाए । उनले भने - नागरिकता विधेयक ओलीजीले प्रस्तुत गर्नुभयो, हामीले पारित गर्यो, कांग्रेस विधि र पद्धतिमा चल्ने पार्टी हो गैरजिम्मेवार हुदैनौ ।