विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ ।
माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको माओवादी श्रोतले जानकारी दिएको छ।
यस अघि नेपाली काङ्ग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय गरी पत्र नै पठाएको थियो ।
पत्र पठाए पनि केन्द्रबाट निर्देशन नआएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।
सङ्घमा नेपाली काङ्ग्रेस सहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । सङ्घमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै काङ्ग्रेसले विरोध गर्दै आइरहेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक ३ बजेलाई बोलाइएको छ । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी आउने छ ।