विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता बारेमा कुनै निर्णय गर्न सकेन । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशन पछि सोमबार बसेको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका शीर्ष नेताहरूले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्न मौखिक निर्देशन दिएपनि कोशी प्रदेश संसदीय दलको बैठकले निर्णय गर्न सकेन । थप छलफल गर्नु पर्ने आवश्यक भएकाले समर्थन फिर्ताको निर्णय भने नगरिएको माओवादीका प्रदेश सभा सदस्यले बताए । कोशी प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिन पत्र नआएको ती सदस्यले बताए ।
‘परिस्थिती फेरिएकाले तत्काल समर्थन फिर्ता गर्न निर्देशन आएको हो, ती सांसदले भने, अहिले नै कोशी प्रदेशमा माओवादीको पोजिशन बनि नसकेकाले समर्थन फिर्ता लिने निर्णयमा नपुगिएको हो ।’ समर्थन फिर्ताका विषयमा अझै पनि केन्द्रीय नेतृत्वसँग छलफल गर्ने तयारी माओवादी भित्र छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको जानकारी दिए । यसअघि सोमबार दिउँसो माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र अन्य एमालेका मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेको छ ।
कोशी प्रदेश सभामा रहेका माओवादीका प्रदेशसभा सदस्यहरू समर्थन लिने र नलिने पक्ष–विपक्षमा छन् । संसदीय दलका नेता आङ्बो समेत आफूहरूको पोजिशन क्लियर नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडानमा रहेका छन् । यस्तै सरकारमा रहेका मन्त्रीहरू समेत सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता लिन नहुने अडानमा रहेको माओवादी श्रोतले जनाएको छ ।
श्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकारको निरन्तरता हुनु पर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन्
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् । कोशी प्रदेश सभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनु पर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् । अर्को स्थिर सरकार बन्ने र राप्रपाले मुख्यमन्त्री पाउने अवस्था भए सरकार परिवर्तन हुन सक्ने सङ्केत राप्रपाले दिएको छ । तर अहिले नै राप्रपालाई मुख्यमन्त्री दिन सक्ने आधार नबनेको मन्त्री सिटौलाले बताए । उनले बजेट पास भएपछि नयाँ गठबन्धनका विषयमा सोच्न सकिने बताएका छन् ।