विराटनगर । पहिचानवादीहरूले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमण गरेका छन् । उदयपुरको गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरु गर्ने बारेमा त्यहाँको कार्यक्रम सकेर गाईघाट बजार तर्फ जाने क्रममा आक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमन पछि प्रदेश स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो, उपसभामुख सृजना दनुवार, प्रदेश स्वास्थ्य सचिव डा सुधा देवकोटा सहितको टोली भुल्नेस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।
बिहीबार बिहान त्यहाँ पुगेको टोलीले सर्पदंशका बिरामीहरू बढ्न थालेपछि उपचार केन्द्रमा प्रदेश सरकारले पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने र त्यो सुचारु गराउने कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बोल्टारको बाटो हुँदै विराटनगर फर्किए भने उपसभामुख दनुवार सहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाट तर्फ लागे । फर्किने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा पहिचानवादीले आक्रमण गरेका थिए । उनीहरूले त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्ण रूपमा क्षति पु¥याएका छन् भनेँ उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ । पहिचानवादीहरु कोशी प्रदेश खारेज गर, उपसभामुखबाट राजिनामा दे भन्दै उपसभामुख दनुवारमाथि आईलागेका थिए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिचानवादीको नाममा केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरे । घटनामा उपप्रमुखको गाडमा बढी क्षति भएको भन्ने जानकारीमा आएको प्रजिअ गौतमले जानकारी दिए । मन्त्रीहरू नै आउने भएपछि पहिचानवादीले अघिल्लो दिन नै अवरोध गर्छौ भन्ने खालको कुरा हामीलाई जानकारीमा आएको थियो, प्रजिअ गौतमले भने, स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर मन्त्रीहरू फर्किँदासम्म पनि समस्या थिएन, पछि उपसभामुख ज्यु घरमा खाना खान जाने क्रममा आक्रमण भएको भन्ने जानकारीमा आएको छ ।’ प्रजिअ गौतमले मोटरसाइकलमा आएको ८–१० जनाको समुहले छापामार शैलीमा आक्रमण गरेको बताएका छन् । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको जानकारी दिँदै पक्राउ गरि कानुन अनुसारको कार्वाही हुने बताएका छन् ।