सुनसरी । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको एकीकृत सन्थाल बस्ती अलपत्र परेको छ । २०७७ फागुन १८ गते तामझामका साथ मन्त्रीहरू सहित आएका पूर्वप्रधानमन्त्री ओलीले मोरङको उर्लाबारीमा बस्तीको शिलान्यास गरेका थिए ।

बस्तीमा चिटिक्क परेका घर बनाएर सन्थाल समुदायलाई राख्ने बताएका ओलीले भाषण गरेको २ बर्ष बितिसक्दा पनि भवन बन्ने अझै अत्तोपत्तो  छैन । बस्ती निर्माणस्थल रहेको रातो होली खेल्सीको उत्तर-दक्षिण क्षेत्रफलमा फैलिएको सात सय ८० मिटर लम्बाइ भित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गा मध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने भनिएको थियो ।

एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालय सहित संरचना निर्माण गर्ने योजना समाबेश छ । सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गरी चांडै हस्तान्तरण गर्ने पूर्वप्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए ।

निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गाको विवाद नसुल्झाइ हतार हतार शिलन्यास गरिएकाले काम अगाडि बढ्न नसकेको हो । ऐलानी जग्गा भएपनि वर्षौंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै शिलन्यासकै बेला स्थानीयले बिरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा ठेक्का लागेपनि बस्ती निर्माणको काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा निर्माण गर्न लागिएको भनेको बस्तीमा १ सय ३२ घर निर्माण गर्ने योजना समेटिएको छ । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिको निर्माण गर्ने भनिएको छ ।

पूर्व राष्ट्रपति भण्डारीको आफ्नै देउरानी लक्ष्मी भण्डारी शिलन्यासका बेला उर्लाबारी नगरपालिकाको उपप्रमुख थिइन । मोरङ पूर्व राष्ट्रपति भण्डारीको गृह जिल्ला पनि हो । तर पनि बस्ती निर्माणको कामले कुनै गति लिन सकेको छैन ।