सुनसरी । लामो खडेरीपछी पानी परेपछी राहत भएको छ । केही दिनदेखि बढेको गर्मीले जनजीवन प्रभावित भइरहेको अवस्थामा गएरातिदेखि वर्षा हुन थालेसँगै राहत महसुस भएको हो । पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हाल कोशी र बागमतीका थोरै स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुनेछ ।

भोलि (मंगलबार) आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।