इटहरी । खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बसाल्नु अभिभावकको दायित्व नै हो । विशेषत ः बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने कुरामा कमै ध्यान दिने गरेको पाइन्छ । यसै कुरालाई मध्यनजर गरेर इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्वस्थ्यकर खाना खुवाउन अभियान नै सञ्चालन गरि रहेको छ । 

विद्यालयले वैशाख १४ गतेदेखि यस वर्षको नयाँ शैक्षिक सत्र प्रारम्भ गरेसँगै यसबारे अभिभावक र विद्यार्थी दुवैलाई सचेतना फैलाउँदै आएको छ । पछिल्लो डेढ महिनाको अवधिमा विद्यार्थीहरुले रोटी, हलुवा, चिउरा–तरकारी, भुटेको मकै, भुटेको भात, चामरे लगायतका खाजाका रूपमा विद्यालयमा ल्याएर टिफिनमा खाने गरेका छन् । तर, कतिपय अभिभावकले भने विद्यार्थीलाई अझै पनि पैसा दिएर पठाउने गरेका छन् । 

विद्यालयले थालेको अभियानलाई सार्थक बनाउन सोमबार मात्र लायन्स÷लियो क्लब अफ मनकामना इटहरीले विद्यालयका छात्रा–छात्रलाईं खाजा ल्याउने टिफिन बक्स वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतका अनुसार ४६० जना विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो । ‘कक्षा ६ सम्मका विद्यार्थीका निम्ति विद्यालयले नै दिवा खाजा सञ्चालन गर्दा ५०० जनाका निम्ति क्यान्टिन सञ्चालनमा छ,’ उनले भने, ‘कक्षा सातभन्दा माथिका विद्यार्थीका निम्ति चालु शैक्षिक सत्रदेखि टिफिनको समयमा विद्यार्थीलाई विद्यालय परिसर बाहिर जान नदिएर घरबाटै खाजा ल्याउने नियम लगाइएको छ ।’

प्रधानाध्यापक बस्नेतले डेढ महिने अनुभवलाई सुनाउँदै भने, ‘विद्यालयले टिफिनको समयमा बाहिर जान नदिने नियम लागु भएपछि विगतमा छुटपुट रुपमा नजानी नराम्रो लत अर्थात् कुलतमा विद्यार्थी फसेका घटना पनि छन् । अहिले त्यस्तो कुनै घटना भएको छैन् ।’ उनले विगतमा टिफिनको समयमा विद्यार्थीबीच केही सीमित विवादका घटनाहरु पनि हुने गर्थे । तर, यतिबेला विद्यालयमा कुनै सानो भन्दा सानो घटना पनि सुन्न पाइएको छैन् । 

नेपालीहरूको खाने बानीमा आएको परिवर्तनले मौलिक खानालाई आयातीत अस्वस्थकर खानेकुराले विस्थापित गरेको सन्दर्भमा विद्यालयले थालेको अभियानले समाजमा परिवर्तन ल्याउने ठानेर टिफिन बक्स प्रदान गरिएको लायन्स क्लब अफ ३२५ सी का डिस्ट्रिक गर्भनर धिरज गुरुङ्ले बताए । खास गरेर विद्यार्थीलाई जनचेतना जगाई नैतिक, चरित्रवान, जिम्मेवार र असल नागरिकको बनाउन विद्यालयले थालेको अभियान उदाहरणीय भएको गुरुङ्ले बताए । 

बजारका खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम कतिपयमा रहेको र त्यसलाई चिर्न विद्यालयले थालेको अयिभानले परिवर्तन ल्याउने आशा जागेको इटहरी वडा नं. १ का वडाध्यक्ष रतन कार्कीले बताए ।  

कक्षा १० मा अध्ययनरत छात्रा विट्रेन कार्कीले पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियान छोटो समयमै सफलता प्राप्त गरेको बताइन् । ‘पत्रु खानेकुराले हामी थुप्रैमा मोटोपनको शिकार मात्र भइरहेका छैइनम्, शारीरिक विकासमै असर परेको छ,’ उनले भनिन् । 

विद्यालयले जंक फुड अर्थात् पत्रु खाना नियन्त्रण गर्न अभियान थालेपछि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक–अभिभावक संघका सदस्य समेत रहेका शिक्षक भूवराज पुरी लायन्समार्फत टिफिन वितरण कार्यक्रम गरिएको हो । पुरी लायन्स÷लियो क्लब अफ मनकामना इटहरीका अध्यक्ष समेत हुन् । टिफि न वितरणसँगै लायन्स÷लियो क्लब अफ मनकामना इटहरीले सृष्टि नेपाललाई छ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरियो । विद्यार्थीका निम्ति स्टेशनरी पनि वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।