मोरङ । कोशी प्रदेश सरकारले प्रदेशको नाम कोशी नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गरेको छ । कोशी प्रदेश सरकारले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र पठाएर वार्ताका लागि बोलाएको हो ।
आन्दोलनमा रहेको संयुक्त संर्घष समितिले औपचारिक पत्र मार्फत बोलाए वार्तामा बस्ने बताउँदै आएको थियो । सोही अनुसार आज प्रदेश सरकारले संर्घष समितिलाई वार्ताका लागि पत्र पठाएको हो ।
‘कोशी प्रदेश नामाकरण भएपछि नामकरणका विषयमा केही समयदेखि असन्तुष्टि र विरोधका घटना हुँदै आएकोले प्रदेश नामकरणका सम्बन्धमा असन्तुष्ट पक्षसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि प्रदेश सरकार, कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०।०२।२४ गतेको निर्णय अनुसार निम्न अनुसार वार्ता समिति गठन भएको व्यहोरा जानकारी गराउँदछु,’ वार्ता समितिलाई उधृत गर्दै मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास श्रेष्ठको हस्तक्ष्यर रहेको पत्र भनिएको छ ‘साथै उल्लेखित वार्ता टोलीको मिति २०८०।०२।२९ गते बसेको बैठकबाट आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता एवम् संवाद गर्ने निर्णय भए अनुसार वार्ताको लागि आव्हान गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । सदस्यहरुमा मन्त्रिद्धय भक्ति प्रसाद सिटौला र बुद्धिकुमार राजभण्डारी रहेका छन।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी पारित गरेको थियो । कोशी नाम राखेपछि पहिचान पक्षधरले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका थिए ।