सुनसरी । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरले काँग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार बनाउन आवश्यक परे संसदीय दलको नेता फेर्न तयार हुनुपर्ने बताएका छन् । मंगलबार इटहरीमा नेपाली काँग्रेस रुपान्तरण अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा नेता घिमिरले यस्तो बताएका हुन ।
नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेतालाई अन्य पार्टीले स्विकार गर्न नसक्ने बताएको भन्दै नेता घिमिरेले नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आए संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताएका हुन । यस्तो अवस्थामा संसदीय दलका नेता बाधक बन्न नहुने पनि नेता घिमिरेले बताए ।
नेता घिमिरेले भने, “यदि अन्य दल, विशेष गरी राप्रपाले संसदीय दलका नेतालाई स्वीकार नगर्ने बताएको छ । यदि उसले अन्य व्यक्तिलाई समर्थन गर्छ भने, माओवादी पनि अहिले काँग्रेससँगै छ, दलको नेता फेर्न काँग्रेस तयार हुनुपर्छ ।”
संविधान र कानुनको अवस्थालाई हेर्दै नेपाली काँग्रेस अगाडि बढ्नुपर्ने नेता घिमिरेको भनाई थियो । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापा रहेका छन् । उनी झापाबाट समानुपातिक प्रणालीबाट सांसद चुनिएका हुन । राप्रपाले नेपाली काँग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रुपमा स्वीकार नगर्ने बताउँदै आएको छ । विशेष गरी राप्रपाका संसदीय दलका नेता भक्ती प्रसाद सिटौलाले मुख्यमन्त्रीको रुपमा उद्धव थापालाई अस्वीकार गर्दै आएका छन् । सिटौला पनि झापाकै हुन ।
हाल सरकारको कृषी मन्त्री समेत रहेका भक्ती प्रसाद सिटौला अब नयाँ सरकार बन्दा आफै मुख्यमन्त्रीको दावी गरिरहेका छन् । यदि काँग्रेसले मुख्यमन्त्री पाउने भए उद्धव थापालाई स्वीकार गर्न नसक्ने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेस संसदीय दलले आफ्नै नेतृत्वमा सरकार बनाउने निणर्य गरेको थियो ।