विराटनगर  । कोशी  प्रदेशको बजेट अधिवेशन अन्त्य भएकोे छ।  बुधवार प्रदेश सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको हो । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले वाचन गरेर २० मिनेट स्थगित भएपछि बसेको प्रदेश सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने भनिएको थियो । असार १ गते बजेट ल्याउने तयारी भइरहँदा कोशी प्रदेश सभाको बैठक  अन्त्य भएको हो । 
नेकपा माओवादी केन्द्रले बजेट ल्याउनै लाग्दा सरकार छाडेपछि अलमलिएको नेकपा एमाले नेतृत्वमा रहेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट अधिवेशनको अन्त्य गरेको हो । बजेट अधिवेशनको अन्त्यसँगै कोशी प्रदेशमा  अध्यादेशबाट बजेट आउने भएको छ ।  नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ। कोशी प्रदेश सरकारले आगामी असार १५ गतेसम्ममा विश्वासको मत लिइसक्नू पर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।  

आगामी आर्थिक वर्षको बजेट असार १ गते भित्रै ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाको  अधिवेशन अन्त्य गरि आगामी आर्थिक वर्षको  बजेट अध्यादेश मार्फत सरकारले ल्याउन लागेको हो ।  सरकार अल्पमतमा परेपछि प्रदेश सभाबाट बजेट ल्याउँदा बजेट फेल हुने भयले सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो । कोशी प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार मन्त्री परिषद्को मिति २०८० जेठ ३१ गतेको सिफारिसमा  आज मध्यरात १२ बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको उल्लेख गरिएको छ। adhibeshan antya