सुनसरी । बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधीको लागि प्रतिष्पर्धा गर्ने भएका छन । बुधबार सांझ सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगेको छ । दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथी ३-० कै सोझो सेटको जीत दर्ता गर्दै एपीएफसंगको उपाधी भिडन्त पक्का गरेको हो ।

        इटहरी रंगशालामा भएको पहिलो सेमिफाइनलमा जीत निकाल्नेक्रममा एपीएफले त्रिभुवन आर्मीलाई २५-१२, २५-१२ र २५-१९ को सोझो सेटले पराजित गर्यो । उक्त खेलको प्लेयरअफ द म्याच एपीएफलाई सहज जीत दिलाउन महत्वपूणर् भूमिका खेलेकी सरस्वती चौधरी घोषित भइन । उनले नगद २ हजार ५ सय पुरस्कार हात पारिन ।

    बुधबार सांझ नै सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले न्यू डायमण्ड क्लबका अधिकांश खेलाडी सम्मिलित बागमती प्रदेशलाई २५-१९, २५-१७, २५-१९ को सेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो । उक्त खेलको प्लेयरअफद म्याच पुलिस क्लबकी कोपीला राणा घोषित भइन ।

          फाइनल खेल बिहिबार सांझ हुनेछ । उपाधि बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रतियोगिता आयोजना भएको हो ।

फोटो - गुरु ढकाल