विराटनगर । अध्यादेश मार्फत बजेट ल्याउने गरि दुई अध्यादेश प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्  ।   बुधवार प्रदेश सभाको मध्यरातबाट अन्त्य भएसँगै कोशी प्रदेशको  आगामी आर्थिक वर्षको बजेट अध्यादेश मार्फत ल्याउन बाटो खुलेको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दुई अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिए । प्रमाणीकरण भएको अध्यादेशमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश  विनियोजन अध्यादेश २०८० प्रमाणीकरण भएको श्रेष्ठले जानकारी दिए । नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम  कोशी प्रदेश मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयमा पुगेको अध्यादेश प्रमाणीकरण भएको हो ।  अध्यादेश प्रमाणीकरण सँगै कोशी प्रदेश सरकारले आज दिउँसो बजेट सार्वजनिक गर्ने भएको छ। आज दिउँसो ४ बजे मुख्यमन्त्रीले अध्यादेश मार्फत ल्याइएको बजेट सार्वजनिक गर्न लागेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ।