इटहरी । सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्दि गर्न ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले रामधुनी नगरपालिका क्षेत्रमा गरेका कामको विहीबार समीक्षा गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आरएसडिसीले गर्दै आएका कामको समीक्षा गरिएको हो । 

आरएसडिसी संस्थाले शैक्षिक गुणस्तर अभिवृद्दि गर्नका निम्ति रामधुनी क्षेत्रका तीनवटा विद्यालयमा सुधारात्मक कक्षा सञ्चालन गरेको छ । एउटा विद्यालयलाई स्टिम मेकर स्पेश ल्याब स्थापना गरि दिएको छ । अरु थुप्रै विद्यालयमा कार्पेन्टिङ्, खेल सामग्री, भवन निर्माण, वाल पेन्टिङ्लगायतका कार्यमा सहयोग गर्दै आएको रामधुनी नगरपालिका शिक्षा शाखा प्रमुख राजन गेलालले बताए । रामधुनी सामूदायिक विद्यालयमध्ये विशेषतः गरिबी, अभाव, कमजोर शैक्षिक एवम् पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी पढ्ने गरेका छन् ।

कतिपय आधारभूत विद्यालयमा त २५ जना भन्दा कम पनि विद्यार्थी छन् । केही विद्यालयमा लेखा परीक्षण नभएको र केहीमा प्रधानाध्यापक र व्यवस्थापन समितिको द्दन्दले शैक्षिक गुणस्तरमा बाधा पुगेका बेला आरएसडिसीले गुणस्तर अभिवृद्दिमा भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले बताए । सो क्रममा आदर्श माध्यमिक विद्यालय बक्लौरीका प्रधानाध्यापक रविन्द्र पौडेलले आरएसडिसीको प्रोजेक्ट सकिएपनि त्यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिनुपर्ने बताए । 

कार्यक्रममा आरएसडिसी कार्यक्रम संयोजक शिखा किरणले वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेकी थिइन् । कार्यक्रम रामधुनी नगरपालिकाका मेयर शंकर चौधरीको सभापतित्वमा भएको थियो । 

सो क्रममा रामधुनी नगरपालिका उपमेयर तारा थापा,१३ बालबालिका आधारभूत स्मृति विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिना, जनता माध्यमिक विद्यालय सिंगियाकी शिक्षिका सुप्रभा घिमिरे, रामधुनी आदर्श आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालीप्रसाद सापकोटा, रामधुनी वडा नं. ७ का वडाअध्यक्ष केशव गौतमलगायतले आरएसडिसीले गरेका कामको चर्चा गरेका थिए ।