इटहरी । थारु चलचित्र उद्योगको उत्थान तथा प्रर्वद्धन गर्न आयोजित तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव सम्पन्न भएको छ । सनुसरीको रामधुनी नगरपालिकाको म्याजिक सिनेमा हलमा २ दिन सम्म चलेको महोत्सवमा थारु चलचित्र,गितसंगित देखी कलाकार र कला क्षेत्रमा आएका नयाँ तथा पुराना विषय माथी छलफल गरिएको थियो ।  

यो महोत्सवलाई पुर्व देखी पश्चिमसम्म छरिएर रहेका थारु समुदायका कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर गर्ने,जगेर्ना गर्ने थारु चलचित्रकर्मीहरुको महा उत्सवको रुपमा लिइएको थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए । 

महोत्सवमा वि.स. २०४७ सालमा निर्माण भएको प्रथम थारु चलचित्र करम देखी हालसम्म निर्माण भएका १ सय १५ थारु फिल्म तथा ८० ओटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

चलचित्र महोत्सवमा नयाँ, पुराना थारु चलचित्रकर्मी तथा थारु चलचित्र उद्योगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो ।

सम्मानीत कलाकारहरुलाई सामान्य प्रशासन मन्त्रि अमनलाल मोदि  तथा पूर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छदारले सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रमले चलचित्र क्षेत्रमा आउन चाहने नयाँ युवाहरुलाई प्रोत्साहन मिलेको तथा पुराना कलाकारहरुको योगदानलाई पनि उचित सम्मान मिलेको आयोजक संस्थाका अध्यक्ष पर्शुराम चौधरीले बताए ।  

tharu