विराटनगर । कोशी प्रदेश सरकारसङ वार्ता गर्न प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले वार्ता टोली बनाएको छ । वार्ता समितिमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिथक र पदम जवेगु छन्। सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले पनि आइतबार समिति बनाएको हो । विभिन्न जातीय सङ्घ संस्था र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी टोली बनाइएको समितिले बनाएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले वार्ता टोलीको नाम आन्तिमरुप दिन बाकी रहेको बताए । वार्ता टोली बनाए सङै सोमबार बिहान विराटनगरमा दुवै पक्षबिच वार्ता हुने तयारी भएको छ। सोमबार बिहान विराटनगरस्थित होटेल बिगमा वार्ता हुने तय भएको छ । भोलीबाट वार्ता प्रारम्भ हुने मुख्य मन्त्री हिक्मत कार्कीले बताए । कोशी प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्री स्तरीय समिति बनाएको छ । सरकारी वार्ता टोलीमा सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सदस्य रहेका छन् । फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।