विराटनगर । कोशी प्रदेश सरकार र पहिचानको माग गर्दै आएको पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति बिच वार्ता सुरु भएको छ ।  कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेर वार्ताको लागि आउन आग्रह गरेसँगै आज  वार्ता सुरु भएको हो । कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजक तिलप्रसाद मेन्याङ्बो, सदस्यहरू भक्तिप्रसाद सिटौला, बुद्धिकुमार राजभण्डारी  छन् । त्यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता समितिमा  गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिथक र पदम जवेगु छन् ।
सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले बिच वार्ता सुरु भएको हो । विराटनगरको बिग होटलमा बिहान ९ बजेदेखि वार्ता सुरु भएको हो । 
गत फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि कोशी नामको विरोध भईरहेको  छ । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।