विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश भित्रका कर्मचारीको तह वृद्धि गर्ने भएको छ। एक सूचना जारी गर्दै प्रदेश सरकारले प्रदेश निजामती सेवा मार्फत कार्यरत कर्मचारीहरूको लागि तह वृद्धि गर्न लागेको हो । प्रदेश सेवा मातहतका कर्मचारीको लामो समयदेखि वृत्ति विकास रोकिएको आरोप लागिरहेको बेला सरकारले तह वृद्धिको प्रक्रिया अघि बढाएको हो  । प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ३० को उपदफा  (१) बमोजिम ५ वर्ष सेवा अवधि पुरा भएका र न्यूनतम शैक्षिक योग्यता हासिल गरेका मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय वा अन्तरगतका निकायमा कार्यरत प्रदेश निजामती सेवा अन्तरगतका कर्मचारीहरूलाई तह वृद्धि को लागि कागजात सहित निवेदन दिन भनिएको छ । उल्लेखित  विषयमा निवेदन दिने म्याद जेष्ठ ३२ गतेदेखि  ३० दिन भनिएको छ।  कर्मचारी समायोजन भएको पाँच वर्ष बितिसक्दा पनि तह वृद्धि हुन नसकेको कर्मचारीले आरोप लगाउँदै आएका थिए ।  प्रदेश निजामती सेवा ऐन जारी भएपछि कर्मचारीको वृत्ति विकास हुने आशा बोकेर बसेका प्रदेश निजामती सेवा अन्तरगतका कर्मचारीहरू सेवा सुविधा र वृत्ति विकासको कुरा प्रदेशमा हुन नसकेको बताउँदै आएका छन् । letter