विराटनगर । सप्तकोशी नदीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ पश्चिम तर्फ कटान थालेको छ । अघिल्लो वर्ष कटान गरेको लाहुरे खोँच भन्दा केही मास्तिरबाट पश्चिम तर्फ सप्तकोशी नदीले तीव्र रूपमा कटान गरेको बेला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए । 
नदीमा अत्यधिक पानीको मात्रा भएकाले कटान तीव्र भएको राईले बताए । उनले भने अहिले सम्म सप्तकोसीले २५ मिटर भन्दा बढी कटान गरिसकेको छ । नदीमा पानीको सतह अत्यधिक रहेकाले कटान जारी छ । कटान गरेको स्थानबाट नदी गाउँ पसे बेलका नगरपालिकाका ३ वटा जोखिममा पर्ने छ । नदीले धार परिवर्तन गरे वडा नम्बर ८, ९ वडाको सिमालटार, धौरी, वडा नम्बर ३ को दुर्गा बन्दी,भाटे पुल  मिलन चोक, एबीसी टप्पु,बुधबारे लगायतका गाउँ प्रभावित हुने छन् । 
अघिल्लो वर्ष पनि सप्तकोशी नदीले बेलकाको वडा नम्बर ८ स्थित डुम्री बोटेमा कटान गरी पश्चिम तर्फ धार परिवर्तन गरेको थियो । यस वर्ष भने अघिल्लो वर्ष कटान गरेको भन्दा अझै माथिबाट कटान गरेको राईले बताए । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले सप्तकोशी नदीको कटान रोक्नका लागि तार जाली लगाउने निर्णय भएको बताए  । उनले नगरपालिकामा रहेको विपद् व्यवस्थापन समितिको बैठक बसी रोकथाममा जुट्ने निर्णय गरेको बताए । सप्तकोशी नदीले अघिल्लो बर्षबाट पश्चिम तर्फ कटान गरिरहेको छ । कटान गरिरहेको भए पनि तीनै तहको सरकारले बेलैमा नदी कटानको रोकथाममा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । हिउँदका बेला रोकथामको काम नगरेको र बर्खा लागेपछि रोकथाममा लागेको भन्दै आक्रोशित भएका हुन् । स्थानीय नारद निरौलाले स्थानीय सरकारले बेलैमा कटान रोकथामको काम नगरेको बताए ।