विराटनगर । पालिकाहरूले शिक्षाको सुधारको लागि धेरै गर्न सक्ने भए पनि अहिलेसम्म पहल नै भएको देखिँदैन । केही पालिकाहरूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको भए पनि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरूको असहयोगले त्यस्ता कार्यक्रमहरू पनि पुरा हुन सकेको देखिँदैन । केही यस्ता पालिका छन् जुन श्वेत पत्र जारी गरेर कोही गर्ने योजनाका साथ अघि बढ्दै छन् ।
राम्रो काम गरेको भनेर कहलिएका इलामको सूर्योदय नगरपालिका, मोरङको बेलवारी नगरपालिकाले विद्यालय क्षेत्र सुधारको लागि केही गर्न खोजेको जस्तो देखिन्छ । पहिलो कार्यकालमा चर्चामा आएका यी पालिका नयाँ जनप्रतिनिधिहरू आएपछि अहिले बुझाउनमा समस्या भएको बताउँदै आएका छन् ।
सूर्योदय नगरपालिकामा पहिलाकै प्रमुख दोहोरिएका छन् भनेँ केही पालिका बाहेक धेरैमा जनप्रतिनिधि प्रमुखमा दोहोरिन सकेका छैनन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षामा केही गर्न खोजेको पालिका मध्येको कानेपोखरी गाउँपालिकाले पनि शिक्षा क्षेत्र सुधारको लागि विशेष गरी बालिका, विद्यालय छाडेका बुहारीलाई लक्षित गरी विद्यालयमा आकर्षण गर्ने कार्यक्रम ल्याएको छ।
आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेटमा पार्ने गरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सामुदायिक विद्यालय सुधारको
लागि श्वेतपत्र जारी गर्दै सबैलाई कडाइको नीति लिएको छ। गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, प्रधानाध्यापक लगायत शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूको बिच अन्तरक्रिया गरी शिक्षा सुधारको लागि अभियान चलाउन लागेको हो । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सामुदायिक विद्यालय सुधारको नयाँ योजना सार्वजनिक गरिएको बताए । शिक्षक र विद्यालयहरू बिहान ९ः४५ बजे विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने, कक्षा ५ सम्मका पढ्ने बालबालिकाहरू अनिवार्य रूपमा भाषागत विषय अङ्ग्रेजी नेपाली बोल्न र लेख्न सक्ने हुनु पर्ने भनिएको छ। कक्षा ५ सम्मका विद्यार्थीहरूले आधारभूत गणितीय सीपहरू जोड घटाउ, गुणन भाग अनिवार्य अनिवार्य गरेको हुनु पर्ने श्वेत पत्रमा भनिएको छ । सबैलाई जबाफदेही बनाउने गरी जारी भएको श्वेतपत्रमा शिक्षण सिकाइ योजना निर्माण, शिक्षण सिकाई क्रियाकलापको लागि शिक्षकले अनिवार्य डायरी प्रयोग गर्नु पर्ने, विद्यार्थीको मुल्याकनको जानकारी अभिभावकलाई दिनु पर्ने, विद्यालयलाई जङ्ग फुड निषेधित क्षेत्र घोषणा गर्ने भनिएको छ । शिक्षण सिकाई क्रियाकलाप गर्दा सकभर आईसिटिको प्रयोग गर्ने, विद्यार्थीलाई ब्यवहार कुशल सीप हासिल गराउन जोड दिइने पनि भनिएको । प्रयोगात्मक परियोजना कार्य, नियमित सरसफाई र प्लाष्टिक मुक्त विद्यालय निर्माणको कुरालाई पनि प्राथमिकतामा राखेर अभियान चलाउन लागिएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार त्रैमासिक रूपमा विद्यालयमा अभिभावक भेला गरी शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया गरिनेछ भने शिक्षक विद्यार्थी आचारसंहिता निर्माण र कार्यान्वयन गर्न विद्यालयहरूलाई भनिएको छ।