विराटनगर । सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसार पसार, बालविवाह र वाल यौन शोषण नियन्त्रणका लागि विद्यालय सचेतना अभियान चलाइएको छ । सीमा क्षेत्रमा महिला माथि हुने हिंसा रोकथामको लागि कार्यक्रमको आयोजना गरिएको हो । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा माइती नेपाल मोरङले विद्यालयमा सचेतना मूलक कार्यक्रम गरेको हो । विराटनगर १५ रानीमा रहेको जनविकास मा.वि. विराटनगर १४ जतुवाको वाल मा.वि., जहदा गाउँ पालिका १, वुधनगरको वुद्धेश्वरी माविमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । कटहरी गाउँपालिका ३मा रहेको जनप्रिय माविमा पनि सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कक्षा ८,९ र १० का ३ सय विद्यार्थी सहभागी कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकथाममा बालबालिका र किशोरीको भूमिकाको बारेमा प्रशिक्षण दिइएको पोखरेलले बताए । सचेतना अभियानको क्रममा सार्वजनिक स्थलमा हुने यौन हिंसा र दुर्व्यवहार, सानै उमेरमा हुने विवाहको रोकथाममा विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बारेमा पनि प्रशिक्षण दिइएको माइती नेपालका गीताञ्जली शर्माले जानकारी दिइन् ।