इटहरी । आफ्नो क्षेत्राधिकारमा आएसँगै इटहरी उपमहानगरपालिकाले तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता गर्न सुरु गरेको छ । दर्ता प्रकृया सुरु भएसँगै हाल सम्म ५० वटा सिटी सफारी दर्ता भएका छन् ।
प्रदेश सरकारले ऐन निर्माण गरी तीन पाङ्ग्रे सवारी व्यवस्थापन गर्ने अधिकार स्थानिय पालिकालाई दिएको थियो । नियमन गर्ने अनुमित पाएपछि उपमहानगरले दर्ता सुरु गरेको हो ।
दर्ता गर्न यस अघिको शुल्क पनि उपमहानगरले घटाएको छ । नगर प्रमुख हेमकर्ण पौडेलले ई–रिक्सा सञ्चालकसँग बैठक बसी दर्ता प्रक्रियामा लाग्ने शुल्क घटाएको बताएका छन् । दर्ता शुल्क बढि भएको भन्दै विरोध भएपछि सहमतिमै शुल्क घटाईएको हो ।
सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने , ई–रिक्सा दर्ता शुल्क रु १ हजार ४ सयबाट घटाएर १ हजार १ सय बनाईएको छ । यस्तै बाटो ईजाजत पत्र शुल्क १ हजार ५ सयबाट घटाएर एक हजार २ सय कायम गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।
उपमहानगरले ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । यसले ई–रिक्सा पहिचान गर्न साथै ट्राफिक व्यवस्थापनमा सहजता हुने विश्वास लिईएको छ ।