विराटनगर । नेपाल ट्रेड युनियन काँग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर समूह हाबी भएको छ। बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जना जितेको छ। निर्वाचन समितिक अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुँवरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेका छन् । कुँवरले ४४१ मत हासिल गर्दा यादव ३७६ मत मात्र प्राप्त गरे । त्यसैगरि संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र जङ्ग कार्की ४६९ मत सहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मतले पराजित गरे । दुई खुल्ला उपाध्यक्ष तर्फ संस्थापन इतरबाट दाङका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी भए । केसीले ४३८ मत पाए भनेँ कोइरालाले ४१८ मत हासिल गरेका थिए। खुल्ला उपाध्यक्षमा दुवैले संस्थापन पक्षका ध्रुवचन्द्र गौतम, शङ्कर लामिछानेलाई पराजित गरेका थिए । एक महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले ३९२ मत ल्याएर विजयी हुँदा  संस्थापनबाट भगवती खड्काले ३४३ मत पाएकी थिइन् । उपाध्यक्ष सेवातर्फ संस्थापन इतरबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी भए । उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापन इतरका राजेश पालिखे विजयी भए। महासचिवमा विराटनगरका अजयकुमार राई विजयी भए । संस्थापन इतरबाट निर्वाचित भएका राईले ४६४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी डीपी अर्याल ३३७मतमा सीमित भए । उपमहासचिवमा संस्थापन इतरका जनार्दन भट्टराई र बलदेव तामाङ विजयी हुँदा संस्थापनतर्फका रञ्जन थापा र राम मङ्गल प्रसाद यादव पराजित भए । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्र तर्फ देवदत्त बडू, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापन तर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी भएका छन् । 
कोषाध्यक्षतर्फ संस्थापन इतरका सञ्जय दाहाल विजयी भए । सह कोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी भइन् । निर्वाचनमा युनियनको १७ सदस्यीय कार्यसमितिमा संस्थापन इतरबाट १५ र संस्थापन पक्षबाट २ जना विजयी भएका छन्  ।  ८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।