विराटनगर . र्यापर गिरिस खतिवडा विरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड विस्त्रो’ धनपालथान गाउँपालिका ४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै क्याफे सञ्चालक सहित ३ जना विरुद्ध किटानी जाहेरी परेको हो ।
प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर–८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर–१६ का अनुराग राउतविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले जनाएको छ । असार ३ गते बिहान ११ बजेको समयमा क्याफेमा मासुको पैसा उठाउन भनेर गएका मोरङको धनपालथान गाउँपालिका– ४का अन्सारीको रहस्यमय मृत्यु भएको थियो ।
कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले सो क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रुपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ । होटल सञ्चालक खतिवडाले क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरूले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।
मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीन जनाले हत्या गरेको भन्दै उनीहरू विरुद्ध किटानी जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले किटानी जाहेरी परेको जानकारी दिए । घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको उनले बताए । तर अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको आरोप लगाएका छन् । कासिदले जी क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको मासिदले बताए ।