विराटनगर ।  विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयले विद्यालयका २५० भन्दा बढी विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने २५० बढी विद्यार्थीलाई पुरस्कृत गरेको हो ।  शुक्रवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।  विद्यालयको शैक्षिक तर्फ शैक्षिक सत्र २०७९मा कक्षागत रूपमा कक्षा १ देखि १२ सम्म प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही नगद क्रमशः ४ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई समेत छात्रवृत्ति प्रदान गरिएको छ ।  विद्यालयले १ लाख ५० हजार बरावरको कक्षागत तथा उत्कृष्ट विद्यार्थी पुरस्कार लगायतका अन्य पुरस्कारहरू वितरण गरेको भट्टराईले जानकारी दिए ।  कार्यक्रममा सेवा निवृत्त भएका  लीला रिजाल बराल र शोेभा दाहाल घिमिरेलाई बिदाइ तथा सम्मान समेत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङ प्रमुख टंकप्रसाद गौतमले पोखरिया माध्यमिक विद्यालय नमुना मात्र हैन देशकै अब्बल रहेको बताए । यस विद्यालयबाट अरू विद्यालयहरूले पनि धेरै सिक्दै गएको उल्लेख गरे । pokhariyaaविद्यालयले विद्यार्थीको हौसला बढाउन गरेको पुरस्कार वितरण र छात्रवृत्ति वितरण कार्यक्रम अर्थपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले विद्यार्थी प्रोत्साहन शैक्षिक गतिविधिको प्रमुख अङ्ग भएको बताए  ।  विद्यालयकी शिक्षक रिता पाठकले सञ्चालन गरेको कार्यक्रममा विद्यालयले गरेका गतिविधिको बारेमा जानकारी दिइएको थियो । पोखरिया माध्यमिक विद्यालयले हरेक वर्ष उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान र पुरस्कृत गर्दै आएको छ। pokharia