सुनसरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले चालु आर्थिक बर्षभन्दा १७ करोड बढाएर आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक बर्षका लागि उपमहानगरले २ अर्ब १८ करोड ल्याएको थियो । 

   आगामी आर्थिक बर्षका लागि उपमहानगरले २० वटा वडामध्ये १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराएको जनाएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ वडाका लागि उक्त रकम बराबरको सीमा तोकिएको उपप्रमु्ख चौधरीले बताइन । बाँकी दस वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको मुख्य चौकमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ । 

     नगरको एक मात्र सरकारी अस्पताल इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटर सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको छ । शिक्षाको  भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही  सामुदायिक विद्यालयहरुलाई  नमुना विद्यालयका रुपमा रुपान्तरण  गर्न बजेट बिनियोजन गरिएको उल्लेख छ ।

विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ । इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने र त्यसका लागि आवश्यक बजेट छुट्याइएको जनाइएको छ । आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरि स्ट्रीट लाईट जडान गर्न पनि बजेट छुट्याइएको छ ।

प्रत्येक वडामा एक वडा स्तरीय खेल मैदान निमाणर् गर्ने र  प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट बिनियोजन गरिएको छ । उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न पनि बजेट छुट्याएको छ । 

     उपमहानगरले सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरि सञ्चालन बजेट छुट्याएको छ । नवप्रवर्तन, अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गर्न बजेटमा समेटिएको छ । नगरभित्र ६ वटा विद्युतीय नगर बस सञ्चालन गर्नका लागि पनि बजेट छुट्याइएको उल्लेख गरिएको छ । यसका लागि ६ वटा उपयुक्त स्थानमा चार्जिङ् स्टेशन निर्माण गरि सञ्चालन गरिने उल्लेख छ ।

आगामी वर्ष प्रत्येक सामुदायिक  विद्यालयमा सिसिटिभी जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा विशेष एक अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ । स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत इटहरीबासीहरुलाई सेवा पुर्‍याउने उद्देश्यले २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ ।