विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर ब्यवस्थापनकोलागि प्रभावकारी काम थाल्न सकेको छैन । प्रबिधिमा फोहोर ब्यवस्थापन सहज हुने भनिएपनि महानगरले फोहोर ब्यवस्थापनलाई प्रबिधिसँग जोड्न नसकेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य   फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताए ।  नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा  ध्यान जान नसकेको  बताए । 

उनले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राखे । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले  बताए ।   इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले  मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने  उनको भनाई छ । विद्युतीय फोहोर व्यवस्थापनकालागि आयातकर्ता, विक्रेता , प्रयोगकर्ता देखि सरकारसमेत जिम्मेवार बन्नुपर्ने उनको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आबश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलनसमेत थालेको अर्यालले बताए  ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिमल्सेनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताए ।  महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आबश्यक पूर्वाधार नहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्रि गर्ने गरिएको उनले बताए ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आबश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको वताए । उनले पुराना विद्युतीय सामाग्री संकलन गरेर पुनः प्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राखे । 

कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताए । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिए ।  कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनु भन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे ।