विराटनगर । कोशी प्रदेश सरकारले असार १४ गते विश्वासको मत लिने तयारी गरेको छ। विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते १ बजेलाई तेस्रो अधिवेशन प्रदेश प्रमुखले आव्हान गरेका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन २०८० साल असार १४ गते बिहीबार दिनको १ बजे बोलाएका हुन् ।
सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वसको मत फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । जेठ १७ गते जनता समाजवादी पार्टीको प्रदेश कमिटीको बैठकले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र सरकारबाट फिर्ता गर्ने निर्णय गरेसँगै विश्वासको मत लिन लागेको हो ।
कोशी प्रदेश सभामा एकजना मात्र सदस्य रहेको जसपाबाट निर्मला तावा लिम्बु सरकारको नेतृत्व गरेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारको स्वास्थ्य मन्त्री भएकी थिईन् । सरकारमा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि त्यो दिनदेखि ३० दिन भित्र सरकारले विश्वासको मत लिनु पर्ने कानुनी ब्यवस्था रहेको छ। १७ गते ३० दिन पुग्दै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १४ गते नै विश्वासको मत लिने तयारी गरेका हुने ।
विश्वासको मत फिर्ता लिँदै सरकारबाट हटेको जानकारी गराएको ३० दिन भित्रमा सरकारले पुन विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार आजै प्रदेश प्रमुखलाई अधिवेशन बोलाउन सिफारिस गर्न पत्र पठाउने र प्रदेश प्रमुखले पत्रका आधारमा संसद्को विशेष अधिवेशन बोलाउने तयारी छ ।
नेकपा एमाले नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र समेत केन्द्रीय नेताहरुको दवाव पछि सरकारबाट बाहिरिएको छ। कोशी प्रदेश सभामा माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जेष्ठ २३ गते सरकारबाट बाहिरिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पु¥याउन ४७ सिट आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको (सभामुख सहित) १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्नकोलागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहेको खण्डमा एमालेलाई ४६ सांसद छन् । थप सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरुलाई फकाउने र बहुमत पु¥याउने तयारीमा एमाले लागेको छ ।