इटहरी । इटहरीको प्रथम जाती थारु घोषणा गरेको उपमहानगरपालिकाले सिरुवा मेलाको प्रर्वद्धन गरी इटहरीकै साँस्कृतिक पर्वको रुपमा विकास गर्ने भएको छ । 

आगामी आर्थिक बर्ष २०८०÷८१को बजेट नीति तथा कार्यक्रम मार्फत उपमहानगरले थारु जातिको पर्व ‘सिरुवा’लाई प्रवद्र्धन गर्ने नीति लिएको हो । प्रथम जाती थारु समुदायको धर्म, सँस्कृति, रिति रिवाज र परम्परालाई जगेर्ना गरी समग्र थारुजातीको विकास र प्रवर्द्धन गर्ने उद्देश्य लिएको उपमहानगरले ‘सिरुवा’ पर्वलाई इटहरीको साँस्कृतिक पर्वको रुपमा विकास गर्ने बताएको छ । 

 थारु जातीको पवित्र स्थल ग्रामथानमा लाग्ने ‘सिरुवा’ मेलालाई प्रचार प्रसार गर्दै यसको साँस्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्ने उपमहानगरले बताएको छ । 

निर्वाचन पछि पहिलो नीति तथा कार्यक्रम मार्फत रैथाने जाति थारुलाई इटहरीको पहिलो जाती घोषणा गरेको इटहरी उपमहनगरपालिकाले थप योजना मार्फत थारु जातीको वृद्धि विकास गर्ने जनाएको छ । 

इटहरी १८ पकलीमा रहेको थारु जातीको ऐतिहासिकता बोकेको भान्से पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पोखरीको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी पर्यटकिय स्थलको रुपमा विकास गरिनेछ साथै इटहरी क्षेत्र भित्र रहेका अन्य सार्वजनिक पोखरीहरुको समेत संरक्षण र सम्वर्द्धन गरिने नीति अवलम्बन गरिनेछ । 

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा इटहरी उप महानगरपालिका भित्र रहेका मातृभाषाको संवर्द्धन,जातीय तथा क्षेत्रिय कला,संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने उल्लेख गरिएको छ ।

 मठमन्दिर,गुम्बा,चर्च,मस्जिद,ग्रामथान,धर्मशाला लगायत धार्मिक आस्थाका केन्द्रहरु,पाटीपौवा,चौतारी,गौचरण,कब्रस्तान,इनार लगायत सबै जात,धर्म र आस्था राख्ने समुदायका दाहसंस्कार स्थलको संरक्षण र विकास गरिने बताएको छ ।