इटहरी । कोशी प्रदेशका उद्योग, पर्यटन, कृषि तथा सहकारी एवम् भौतिक निर्माण मन्त्री भक्तिप्रसाद सिटौलाले मुलुकलाई दोहन गर्ने अनैतिक काम कोही कसैबाट हुन नहुने बताएका छन् । 

असल संस्कार शिक्षा मार्फत प्राप्त हुने भएकाले समग्र व्यक्तिको सम्पति शिक्षा भएको मन्त्री सिटौलाले प्रस्टयाएका छन् । 

‘राजनीतिमा पूर्णकालिन लाग्नेले त अनैतिक काम गर्नै हुँदैन,’ मन्त्री सिटौलाले सोमबार इटहरी वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रमका क्रममा भने, ‘म आफू पनि पूर्णकालिन राजनीतिक कार्यकर्ता भएकाले गर्दा कहिल्यै पनि अनैतिक काम गर्ने छैन् ।’ उनले असल काम गर्ने संस्कार शिक्षामार्फत प्राप्त हुने भएकाले गर्दा त्यही अनुसारको शिक्षालयबाट वातावरण हुनुपर्नेमा जोड दिए । 

‘खास गरेर विद्यार्थीलाई असल बनाउने भूमिका गुरुहरुकै हो,’ उनले भने, ‘हरेक व्यक्तिको सम्पूर्ण सम्पति र भविष्य भनेकै उनीहरुका नानी हुन् ।’ मन्त्री सिटौलाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याएर अघि बढ्ने प्रतिबद्दता पनि जनाए । 

मन्त्री सिटौलालाई विद्यालयले सम्मान गर्न आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश सभासद रोहित कार्कीले विद्यालयभित्र सम्पूर्ण रुपमा शैक्षिक वातावरण हुनुपर्ने बताए । ‘राजनीतिले सानो भन्दा सानो कुरामा राम्रोभन्दा हाम्र्रोले प्राथमिकता पाउने हुँदा शिक्षालयको वातावरण विग्रिनेछ,’ उनले भने । 

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष रतन कार्कीले राष्ट्रिय माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न माग प्रदेश सरकारसमक्ष माग गरे । 

कार्यक्रममा विद्यालयको तर्फबाट बोल्दै प्रधानाध्यापक सरणकुमार बस्नेतले इटहरी क्षेत्र भरिका सामूदायिक विद्यालयहरु मध्ये दोस्रो स्थानमा रहेकाले चाँडै पहिलो स्थानमा पुग्ने बताएका छन् । 

विद्यालयको शैक्षिक अवस्था गुणस्तर अभिवृद्धिमा लागेको बताउँदै प्रध्यानाध्यापक बस्नेतले प्रदेश सरकारले सहयोग गरे चाँडै विद्यालयलाई सामुदायिक विद्यालय मध्येमै उत्कृष्ठ विद्याललय बनाउन सकिने बताए । प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका वडास्तरका नेता निश्चल पोखरेल, नेकपा माओवादी केन्द्रका मीनबहादुर मगरलगायतले विद्यालयबारे चर्चा गरेका थिए । राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ । यहाँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्को पनि पठनपाठन हुने गरेको छ ।