विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध अदालतको अपहेलना मुद्दा दायर भएको छ ।

न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्तिको दिएका राजभण्डारी विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको हो ।

राजभण्डारीले गत असार १० गते एक कार्यक्रममा दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अभिवक्ता उद्धबचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन् । मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए ।

मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरि संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि द्वेश र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दावी निवेदनमा गरिएको छ ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अपहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ ।