विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले  बिहीबार नै विश्वासको मत लिने बताएका छन्  । नेकपा एमाले संसदीय दलको बैठक  सहभागी हुने क्रममा पत्रकारसँग कुरा गर्दै   मुख्यमन्त्री कार्कीले भोली तय भएको प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिने बताएका हुन् । विश्वासको मतोलागि भोली नै समय तय गरिएको कार्कीले जानकारी दिए । आफूले विश्वासको मत नपाउने भन्ने संभावना नै नभएको बताएका कार्कीले अहिलेसम्म एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत  पक्षमा हाल्ने निर्णय गरेको र भोलीसम्ममा अन्य दलहरू मध्येको कोही विश्वासको मत दिन तयार हुने  कार्कीले बताए । गठबन्धन दलका नेताहरू एक भएको र विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको बारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले त्यहाँ एक दुई दल बाहेक अरू दलको नेता नै नभएको स्पष्ट पारे ।  उनले अहिलेको अवस्थामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नहुने पनि बताएका छन् ।  
कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६,  नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् । कोशी प्रदेश सभामा सरकार बनाउन वा  विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । अहिले नेकपा एमाले नेतृत्वको हिकमतकुमार कार्कीको सरकारलाई विश्वासको मत पाउन १ जना सांसद आवश्यक पर्ने देखिन्छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसद रहेका छन् ।