सुनसरी । वंशजको आधारमा नागरिकता बितरण सुरु भएपछी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहान ४ बजेदेखी नै सेवाग्राहीको भिड लाग्ने थालेको छ । अन्य जिल्लामा जस्तै सुनसरीमा पनि मंगलबारदेखी जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता वितरण सुरु भएको हो ।
मंगलबार पहिलो दिन ४७ जनाले वंशजको आधारमा नागरिकता लिएपनि बुधबार बिहानैबाट भिड बढेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । पाण्डेका अनुसार मंगलबार २९ महिला र १८ पुरुषलाई नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम नागरिकता बितरण गरिएको हो । सेवाग्राहीको भीड अत्याधिक बढेपछी जिल्ला प्रशासन कार्यालयले आज बुधबारका लागि एक सय ६० जनाका लागि टोकन दिएको थियो । जसमध्ये १ सय ५७ जनाले आज बुधबार नागरिकता प्राप्त गरेका छन ।
भीड बढेपछी कार्यलयले बिहिबारदेखी स्थानिय तहअनुसार तालिका बनाएर दैनिक सेवा दिने भएको छ । बिहीबारबाट नागरिकता प्राप्त गर्न पालिका विभाजन तालिका अनुसार आउन अनुरोध गरेको छ ।
आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका र शुक्रबार कोसी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्ने तालिका बनाएको प्रशासनले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेका हुन ।
बिचमा सर्वोच्चको अन्तरिम आदेशले रोकिएपछी पुन त्यही अवस्था आउने होकी भन्ने आशंकाले सेवाग्राहीले जतिसक्दो चाडो नागरिकता बनाउन चाहेकाले पनि भिड बढेको बताइएको छ ।