विराटनगर । नेकपा एमाले संसदीय दलको बैठकले अहिलेको नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत दिएर जान सबै दलहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। बिहीबार दिउँसो बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रदेशको स्थायित्वको लागि सबै दलहरू मिलेर जानुको विकल्प नभएकोले दलहरूले नै निर्णय गरेर नेकपा एमाले नेतृत्वको सरकारलाई मत दिने वातावरण बनाउने बारेमा छलफल भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । नेकपा एमाले र राप्रपाको ४६ जना सांसद रहेको र एकभन्दा बढी मत चाहिने भएकोले दलहरूले निर्णय नै गरेर मत दिने बारेमा विभिन्न सम्भावनाहरूको बारेमा बैठकमा खोजी गरिएको भण्डारीले जानकारी दिए । बैठकको निर्णय बारेमा जानकारी दिँदै भण्डारीले कोशी प्रदेशको स्थायित्व र सुशासनका निम्ति, अन्य दलहरूलाई विश्वासको मत दिन आव्हान गर्ने र त्यो सम्भावना रहेको बताए । कुन दलले एमालेलाई मत दिन्छ भन्ने बारेमा केही उल्लेख नगरेका भण्डारीले भोली नेकपा एमाले संसदीय दलका सबै सदस्यलाई १ बजे भन्दा अगाडी नै दलको कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको जानकारी दिए ।
साझा सरकार बनाएर जानको लागि पनि अहिलेको सरकारलाई नै विश्वासको मत दिएर जाने बारेमा पनि छलफल भएको भण्डारीले बताए । ‘नेपाली काङ्ग्रेससँग सरकार बनाउने बारेमा पनि छलफल भएको र अन्य दलहरूसँग पनि छलफल भएको छ, उनले भने, कुनै दलको सांसद चोर्ने भन्दा पनि दलहरूले नै निर्णय गरेर आउने वातावरण बनाउने बारेमा छलफल भएको छ ।’ नेपाली काङ्ग्रेससँग केन्द्रमा र प्रदेशमा पनि छलफल भएको र अन्य दलहरूसँग पनि कसरी जाने भन्ने बारेमा छलफल भइरहेको उनले जानकारी दिए ।