विराटनगर । कोशी प्रदेशमा मुख्इमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गर्दै गर्दा अहिलेकै अबस्थाका सरकार बन्न नसक्ने अबस्था आए मध्यावधि निर्वाचनमा जान सकिने भन्दै नेताहरुले बोल्न थालेका छन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशीमा मध्यावधि निर्वाचन हुन सक्ने बताए ।   प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले बरु मध्यावधि निर्वाचनमा जाने तर अहिलेको सरकारलाई विश्वासको मत भने नदिने बताए ।  प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक रहेको  उनले प्रतिक्रिया दिए ।  

‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला, उनले भने,  मध्यावधिमा जानु ठूलो कुरा भएन, उनले भने, तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं ।'  उनले  कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा एक भएर अघि बढ्ने सहमति भएको पनि बताए ।  

चार दल बिचको सहमति अक्षरसः पालना हुने उनले दाबी गरे ।  नेता थापाले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे । जनमतका आधारले मध्यावधिमा जानुपर्ने अवस्था आउन सक्ने उनको सङ्केत थियो । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनलाई राप्रपाको साथ छ । सत्तारुढ दलसँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् ।