विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका छन् ।  ठुलो दलको हैसियतले गत पुस २४ गते नेकपा माओवादी, राप्रपा, जसपाको समर्थनमा कोशी प्रदेशको सरकारको मुख्यमन्त्री भएका कार्कीले बिहीबार बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका हुन् ।   नेकपा एमालेका ४० जना, नेकपा माओवादी केन्द्रको १३ जना, राप्रपाको ६ र जसपाको १ जना सांसदहरू सहित कोशी प्रदेश सरकार बनेको थियो । पुस २४  गते बहुमत रहेको दाबी सहित प्रदेश प्रमुखकोमा सरकार बनाउनको लागि दाबी पेस गरेको थियो ।  त्यसको भोलीपल्ट सरकारको मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका थिए ।   आफू मन्त्री भएपछि पहिलो पटक  प्रदेशको आर्थिक सुशासन र पारदर्शिताका लागि १३ मन्त्रालयलाई घटाएर ९ वटामा झार्न गरेको कामलाई सुदूरपश्चिमसम्मले अङ्गीकार गरेको सम्बोधनका क्रममा बताए । दुई जना मन्त्री लिएर सरकार चलाउँदा एमाले भित्र कुनै समस्या नभएको दाबी गरेका कार्कीले जति साना दल सरकारमा जाने कुरामा त्यति नै विवाद रहेको बताए ।  पुँजीगत र चालु खर्चको अवस्था ६ महिनामा ८० प्रतिशत प्रगति गर्न सकिने बताए । मन्त्री धेरै नहुँदा पनि राम्रो काम गर्न सकिन्छ भन्ने आफूले दिलाउन सफल भएको बताए ।  कार्कीले पहिलो पाँच वर्षमा धेरै प्रयास गर्दा पनि नामकरण गर्न नसकिएकोमा आफ्नै कार्यकालमा निष्कर्षमा पुर्‍याउने काम गरेको बताए । सङ्घीय सरकारका प्रधानमन्त्रीबाट कोशी प्रदेश सभाले गरेको नामकरणको निर्णयमाथि सङ्घीय सरकारका प्रधानमन्त्रीले प्रदेशले गलत गरेको भनेर प्रदेशको अधिकारमा हस्तक्षेप गरेको कार्कीले आरोप लगाए ।  कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६,  नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् । कोशी प्रदेश सभामा सरकार बनाउन वा  विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । अहिले नेकपा एमाले नेतृत्वको हिक्मतकुमार कार्कीको सरकारलाई विश्वासको मत पाउन १ जना सांसद आवश्यक पर्ने देखिन्छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसद रहेका छन् ।