विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । शुक्रबार ११ बजेदेखि सुरु हुने भनिए पनि केही बेरअघिबाट बैठक सुरु भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यतिबेला सदनमा जवाफ दिइरहेका छन् ।

उनको सम्बोधन सकिएपछि विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमा मत विभाजन हुनेछ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सारेका हुन् ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका नेताहरूले छलफलमा भाग लिएका थिए । मुख्यमन्त्री कार्कीकै आग्रहमा दिउँसो पटक–पटक सारिएको बैठक मुख्यमन्त्री र मन्त्रीहरू सभामा नफर्किएपछि बिहीबार बस्न सकेन ।

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा, त्यसपछि एक घण्टा हुँदै शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिएका थिए ।