विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक भएको बताएका छन् । शनिवार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै कार्कीले विराटनगरको इतिहासलाई केलाई
पुनर्जीवनका लागि
बहस थाल्नु पर्ने बताएका हुन् ।
आधा दर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरूको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योग धन्दाको केन्द्र रहेको भए पनि अहिले विराटनगरमा हिजोका जस्ता राजनीतिक नेतृत्व र उद्योगधन्दा नभएको बताए । ‘अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ, उनले भने, विराटनगरलाई कसरी पुनर्जीवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक छ ।’ प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
विराटनगरको निर्माणमा मारवाडी समुदायले पु¥याएको योगदानको चर्चा गर्दै उनले मारवाडी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उल्लेख गरे ।
तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी विराटनगर – १९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले विराटनगरलाई पुनर्जीवनमा सहयोग पुग्ने बताए । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यलाई पुनः निरन्तरता दिन आवश्यक भएको औँल्याए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक र राजनीतिज्ञहरूको नगरीको रूपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बताए । नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय अध्यक्ष पवन मित्तल, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष तारा चन्द खेतान लगायतका व्यक्तिहरुले विराटनगर अतिथि सदन निर्माणका बारेमा धारणा राखेका थिए ।