विराटनगर । सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न सङ्घ संस्थाहरूले गुनासो गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक सङ्घ संस्थाका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् । महिला, बालबालिका जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संस्थाले व्यक्तिगत गोपनीयता लगायतका विषयमा संवेदनशील हुनुपर्ने भएकाले यस्ता विषय अध्ययनकै क्रममा विद्यार्थीहरूलाई जानकारी गराउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सामाजिक कार्य अध्ययन गरेका जनशक्तिको अभावमा अन्य विषय अध्ययन गरेका जनशक्तिले काम चलाउनु परेको सिविनका कोशी प्रदेश प्रमुख वासु अधिकारीले गुनासो गरेका छन् ।
क्याम्पसका सह–प्राध्यापक डा. रमेश बाबु काफ्ले कार्यक्रमको आवश्यकता र औचित्यको विषयमा प्रकाश पारेका थिए भने उपप्राध्यापक पुकार चौधरीले सामाजिक कार्यको पाठ्यक्रमले समेटेका क्षेत्रका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीको कार्यक्षेत्र सरकारी र सामाजिक सङ्घ संस्था रहेकाले कक्षा कोठाको सिकाई र कार्यक्षेत्रको अभ्यासलाई एकरूपता दिन सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख तथा निर्देशक महेश प्रसाद निरौलाले बताए । कला, कानुन तथा शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिल पोखरेलले सामाजिक कार्यमा क्रियाशील सङ्घ संस्था र सरकारी कार्यालयको आवश्यकतालाई पुरा गर्ने जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । आवश्यकता अनुसारको गुणस्तरीय जनशक्ति उत्पादन गर्न समयानुकूल पाठ्यक्रम परिमार्जन गरी व्यवहारिक बनाउने डीन पोखरेलले जानकारी दिएका छन् ।
कार्यक्रममा सोम थापा, लखन साह, दीपक चापागाईँ, सरस्वती दनुवार, सञ्जीव चापागाईँ लगायतले सामाजिक कार्यका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अलावा अभ्यासमा आधारित शिक्षा दिन सुझाव दिएका छन् ।