सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मुस्लिम धार्मिक शिक्षा तर्फ उच्च माध्यमिक तहको कक्षा संचालनमा ल्याइएको छ ।
मुस्लिम समुदायको बाहुल्यता रहेको भोक्राहा ४ स्थित जामिआ इस्लामियाले नेपाल सरकारबाट इजाजत प्राप्त गरी मुस्लिम धार्मिक शिक्षा तर्फको उच्च माध्यमिक तहको पठन पाठन सुरु गरेको हो । धार्मिक शिक्षा तर्फ प्लस टु कक्षा संचालनको अनुमती पाउने पहिलो शैक्षिक संस्था भएको जामिआ इस्लामिया भोक्राहाले दाबी गरेको छ ।
गाउँपालिकाको सहयोगमा उच्च शिक्षाको बन्दोवस्ती मिलाइएको गाउपालिका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए । धार्मिक शिक्षा अन्तर्गतको कक्षा सञ्चालनमा सरकारले तोकेका तीन वटा पाठ्यक्रम अनिवार्य रहने र बाँकी पाठ्यक्रम भने मुस्लिम धर्म अनुसारको हुने जामिआ स्लामियाका सचिव अम्जत हुसेनले बताए । लामो प्रतिक्षा र मेहनत पश्चात धार्मिक शिक्षा तर्फ उच्च शिक्षाको कक्षा संचालनको अनुमती पाएको बताउदै हुसेनले पठनपाठनमा डिजिटल शिक्षा पद्धति अपनाइने जानकारी दिए ।
धार्मिक शिक्षालाई लक्षित गरी संचालनमा ल्याइएको उच्च शिक्षाले भोक्राहा सहित मुस्लिम समूदायको बाक्लो उपस्थिति रहेका छिमेकी पालिकाहरु इनरुवा, कोशी र हरिनगर गाउँपालिका समेत लाभान्वित हुने गाउँपालिका अध्यक्ष आजादले बताए ।
स्थानिय सरकारको पहलमा गाउँमै खुलेको उच्च शिक्षाको पठनपाठनले विशेषगरी मुस्लिम समूदाय भित्रका किशोर किशोरी लाभान्वित हुने भएका छन ।