सुनसरी । सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः चर्किएको छ । सोमबार धरानका नगरप्रमुख हर्क साम्पाङले इटहरीको तरहरास्थित पानीपियामा सीमा बोर्ड राखेपछि विवाद पुन बल्झिएको हो । धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङले इटहरीको तरहरास्थित पानिपियामा अपरान्ह सीमा बोर्ड राखेका थिए ।

धरान उपमहानगरपालिका सीमा प्रारम्भ लेखिएको बोर्ड इटहरीका नगर प्रहरीले केहीबेरमा हटाएका हुन् । यसअघि पनि सोही स्थानमा साम्पाङ बोर्ड राखेका थिए । उनले राखेको बोर्ड त्यसबेला पनि युवा संघ इटहरीले उखेलेको थियो ।

यस पटक भने धरानको नगर प्रहरीहरूले बिजुलीको पोलमा बोर्ड टाँसेका थिए । यस पटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने जनाएको छ । यसअघि पनि धरानका स्थानीय नेताहरूले इटहरीको पानीपिया सम्म आफ्नो क्षेत्राधिकार रहेको भन्दै बोर्ड राख्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले भने सेउती खोलाको सिमानामा बोर्ड राख्ने गरेको छ ।

धरानको सीमा क्षेत्र पानीपिया भएको भन्दै बोर्ड राखिएको धरान उपमहानगर प्रमुख  साम्पाङको दाबी छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकणर् पौडेलले समन्वय र संवाद मार्फत समस्याको हल गर्नुपर्ने बताउँदै आएका छन् । वार्ता मार्फत हल गर्न सकिने विषयलाई धरानका नगरप्रमुखले जनस्तरमा मान्छे भिडाउने काम गरेको पौडेलले बताए । धरान र इटहरी उपमहानगरको सिमाना चारकोसे झाडी स्थित सेउती खेलाको पुललाई मानिदै आएको छ ।

प्रहरी प्रशासन र स्थानिय तहले पनि लामो समयदेखी सोही पुललाई सिमाना मानेर काम गर्दै आएको अवस्थामा धरान उपमहानगरका प्रमुख साम्पाङले ५ किलोमिटर दक्षिण इटहरी क्षेत्रको पानीपियामा सीमा बोर्ड गाडेपछी पुन बिवाद सुरु भएको हो । बारम्बार दुई उपमहानगरपालिका बिच विवाद बढ्दै गएपछि जिल्ला समन्वय समिति सुनसरीले दुई पालिकाका प्रमुख तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्ने भएको छ ।