विराटनगर । कोशी प्रदेशमा विपक्षी गठबन्धनले बिहीबार सरकार गठन गर्ने बारेमा दाबी पेस गर्ने भएका छन् । केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूका बिच काठमाडौँमा भएको छलफल पछि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई अघि सारेपछि सरकार बनाउने विषय अगाडी आएको हो । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै आएको थियो ।
केन्द्रीय नेताहरूले मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट थापालाई अघि सार्ने निर्णय गरेसँगै सरकार गठनको प्रक्रियामा बिहीबार दाबी पेस गर्ने तयारीमा दलहरू लागेका छन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई प्रदेशले पनि मानेर जानु पर्ने भएकोले त्यही अनुसार २१ गतेसम्ममा दाबी पेस हुने नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईले बताए । उनले अब बन्ने सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउनको लागि सबै लाग्नु पर्ने उल्लेख गरे । एक कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा र संविधानको धारा १६८ (३) अनुसार पनि स्थिरता नआउने भए कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने र सर्वदलीय सरकार गठन हुनेमा जोड दिए । यस अघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार बनाएर जानको लागि गरेको प्रस्तावलाई चापागाईँले मूर्त रूप लिन नसकेको प्रतिक्रिया दिए ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनकालागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि गत पुस २४ गते गठन भएको नेकपा एमाले नेतृत्वको हिक्मतकमार कार्कीको सरकार ढलेको छ। संविधानको धारा १६८ को उपधारा (२) को अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत नै दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।