पथरी शनिश्चरे । नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका १ नं. वडा कमिटीको नेतृत्व चयन आगामी सोमबार हुने भएको छ । सुप्रसिद्ध शिद्धेश्वर शिवालय मन्दिर परिसरमा आयोजित दोस्रो अधिवेशनले नेतृत्व चयन चुनावी प्रक्रियाबाट आगामी सोमबार हुने भएको हो । वडाध्यक्ष प्रदीपकुमार राईको अध्यक्षता र सचिव सुनिल खत्रीको सञ्चालनमा अधिवेशन सोमबार सुरु भएको थियो । अधिवेशनलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर ३ इन्चार्ज नैनकला ओझाले उद्घाटन गरेकी थिइन् ।
पछिल्लो समय नेकपा एमालेले वडा तहदेखि नै सङ्गठनलाई सुदृढीकरण गर्दै लगेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले कुनै खास प्रकृतिको अवसर नपाए पार्टी परित्यागको घोषणा गर्ने, सदस्य पदलाई पानी सदस्य भन्ने गरेको सुनिन्छ, यो कम्युनिस्ट निष्ठा, आचरण, कार्यशैली र जिम्मेवार अभिव्यक्ति नभएको बताए । कम्युनिस्ट पार्टी एमालेको सदस्य आफैँमा जिम्मेवारी हो, आजीवन पद हो, उनले भने, यसप्रति गर्व गर्न सक्नुपर्छ ।
पार्टी केन्द्रीय सदस्य युवराज बास्कोटा, केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुन क्षेत्री, कोशी प्रदेश कमिटी सदस्य देवराज भण्डारी, मोहनप्रसाद तुम्बापो, दिलीपकुमार राई, विजय डाँगी, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, सदस्य भगतचन्द्र थपलिया, बाबुराम ऐङदेन लिम्बू, वीर ध्वज शिवा, दुर्गादेवी दंगाल सुवेदी, यमुना विष्ट, नगर अध्यक्ष रमेश दाहाल, सचिव भीमकुमार राई, पुराना कम्युनिस्ट नेता वसन्तकुमारी राईलगायत नेताहरूले शुभकामना दिएका थिए ।
सोमबार हुने नेतृत्व चयनका लागि नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलियाको संयोजकत्वमा भवानीप्रसाद दुलाल र टीकाप्रसाद दंगाल रहेको निर्वाचन समिति गठन गरिएको अध्यक्ष मण्डलका संयोजक देवराज भण्डारीले जानकारी दिए ।