विराटनगर । सत्ता गठबन्धनका एक एक जनालाई समेटेर कोशी प्रदेशमा मन्त्री परिषद् विस्तारको तयारी भएको छ । नव नियुत्तः मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ खाएसँगै थप मन्त्रीहरूलाई समेत पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेको छ । आज विस्तार हुने मन्त्री परिषद्मा माओवादी केन्द्रबाट जीवन आचार्य, एकीकृत समाजवादी केन्द्रबाट कमल जवेगु नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार मन्त्री बन्ने श्रोतले जनाएको छ ।

सरकार गठनका लागि समर्थन गरेको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सानो आकारको मन्त्री परिषद् आजै विस्तार हुने बताए । उनले सबै दलबाट एक एक जना समेटेर मन्त्री परिषद् विस्तार हुने भए पनि को को मन्त्री हुने भन्ने अझै टुङ्गो नलागेको बताए ।

बिहीबार विवादकै बिचमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका छन् । थापाले सरकार गठनका लागि पेस गरेको दाबी पत्रमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर रहेको छ । सभामुखले हस्ताक्षर गरेर सरकार गठनका लागि दाबी पेस गर्ने संविधान र कानुनले रोक लगाएको छ ।