चीना थापा ।
विराटनगर । मोरङको रंगेलीका ज्ञान बहादुर रिजालले दुई वर्षदेखि चुनासुर्ती खादै आएका थिए । यसभन्दा अगाडि उनी बेला बेला चुरोट सेवन गर्थे । चुरोट महँगो हुँदै गएपछि रिजाल १० रुपैयाँमा आउने चुना सुर्तीको प्याकेट किनेर खान थाले । नियमित चुना सुर्ती खान थालेको उनले डेढ वर्ष भयो । यही बिचमा मुखमा घाउ आउन थाल्यो । खैनी माडेर राख्ने मुखको साइडमा घाउ बढ्दै गएपछि उनी चिन्तामा परे । स्थानीय रूपमा गर्न सकिने खालका औषधीको खोजी गरेका रिजालले नजिकै रहेको रङ्गेली अस्पतालमा गएर जँचाए अनि औषधी पनि खाए । उनले जँचाएर आएको औषधीले कामै गरेन । उनको मुखको घाउ निको हुनु त परको कुरा छुँदा पनि छोएन । औषधीमै उनले २० देखि ३० हजार खर्च गरे । तर, घाउ निको नभएपछि कोशी अस्पताल आए ।
विराटनगरमा रहेको कोशी अस्पतालमा आइपुग्दा उनको गिजाको भित्री भाग देखि बाहिरी भाग चिउँडो भरी घाउ फैलिसकेको थियो । विराटनगरमा गरिएको परीक्षणले उनको मुखमा क्यान्सर भएको रिपोर्ट आयो । सुरुवात चरणकै क्यान्सर भएका कारण उपचार हुनेमा विश्वस्त छन् । ‘धन्न छिट्टै आई पुगेछु, क्यान्सर धेरै तिर फैलिएन उनले भने, ५५ वर्षको भएँ, अझै बाच्ने रहर धेरै छ ।’ अझै केही महिना ढिला भएको भए उनको उपचार गर्न नै समस्या हुने अवस्था थियो । औषधी किनेर खानु नहुनेमा त्यो पनि थाहा नभएको उनले सुनाए । अहिले आएर १० रुपैयाँको सुर्तीले लाखौँ खर्च गराउने अवस्था आएको बताए । ‘पहिला
बुद्धि
आएन, परिवारलाई पनि ढाँटेर बसियो, उनले भने, अहिले दुःख पाएपछि बुद्धि आएर के गर्नु ।’
शुरुमा उनले मुखमा घाउ भएको समस्या परिवारलाई पनि बताएनन् । पहिला नै सही ठाउँमा आएर उपचार गराउन पाएको भए धेरै खर्च नलाग्ने रहेछ, उनी भन्छन्, के गर्नु थाहा भएन । परिवारलाई पनि मलाई घाउ भयो भनेर भन्न पनि सकिन ।’ अहिले आएर खर्च पनि धेरै भयो र दुःख पनि पाएको उनको भनाइछ । १० रुपैयाँको सुर्तीले त गरिब बनाउने रहेछ आफू नपर्दासम्म कोही नचेत्ने रहेछन्, आफूलाई पनि समस्या परेपछि बल्ल चेतेको उनी बताउँछन् ।
रिजाल जस्ता बिरामी कोशी अस्पताल हरेक दिन आउँछन् । अरूको तुलनामा उनी त अलि छिटो नै उपचारको लागि अस्पताल आइपुगे तर, धेरै बिरामी क्यान्सर भएको पत्तै पाउँदैनन् । अधिकांश सुर्ती सेवन गर्ने बिरामीहरू मुखको मासु झर्न थालेपछि मात्र अस्पताल आउने गरेको अस्पतालको तथ्याङ्कमा देखिन्छ । अस्पतालसम्म ढिलो आउँदा उनीहरूको उपचारमा समेत धेरै खर्च हुने गरेको छ। यसको उपचार पनि महँगो हुने भएकाले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरू आर्थिक समस्यामा पर्ने गरेका छन् ।
कोशी अस्पतालका दन्त तथा अनुहार रोग विशेषज्ञ डाक्टर सुधीर श्रेष्ठले सरुवा रोगभन्दा मुखको क्यान्सरका बिरामी दैनिक २।३ जना ओपिडीमा आउने गरेको जानकारी दिए । कोशी प्रदेशका विभिन्न जिल्ला र छिमेकी देश भारतको बिहारदेखि समेत मुखको क्यान्सरका बिरामी उपचारका लागि कोशी अस्पताल आउने गरेको श्रेष्ठको भनाई छ। सरुवा रोगभन्दा पनि धेरै मुखको क्यान्सरका बिरामीहरू आउने गरेको छन् । माडेर खाने सुर्तीका कारण बढी क्यान्सर लाग्ने गरेको उपचारमा आएकाहरुको तथ्याङ्कले देखाएको
श्रेष्ठले बताए ।
उमेर समुहका आधारमा पनि सुर्ती सेवन गर्नेहरूको सङ्ख्या धेरै रहेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् । सुर्तीजन्य पदार्थ १५ देखि २८ वर्ष उमेर समूहले बढी सेवन गर्ने गरेको प्रदेश स्वास्थ्य अधिकृत कृष्ण देवले जानकारी दिए । अरूले गरेको धूम्रपानले पनि सँगै बसेकालाई असर गर्छ भन्ने जान्दा जान्दै पनि यसको सेवन हुने गरेको उनी बताउँछन् । सुर्तीजन्यबाट १८ वर्षमुनिका बालबालिका र गर्भवती बढी जोखिममा हुने गरेका छन् । बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रि वितरण गर्न, गराउन नहुने देवले जानकारी दिए । सुर्तीजन्य पद्धार्थको सेवन, प्रयोगमा रोकथामका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
स्वास्थ्यमा गम्भीर असर
खैनी–चुरोट, गुट्खा, सुर्ती वा अन्य यस्तै निकोटिनजन्य पदार्थ मुखमा राख्ने, नसा लिने वा सेवन गरेर स्वास्थ्य जोखिममा पार्नेको सङ्ख्या दैनिक बढ्दो छ । बजारमा पाइने गुट्खा, खैनी, सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनो अक्साइड, रेडन, एमनिया, आसनिक आदिजस्ता करिब सात हजारभन्दा बढी केमिकल पाइन्छन्, यी सबै स्वास्थ्यका लागि हानिकारक मानिन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष २७ हजारको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा मुखको क्यान्सर हुन्छ । त्यस्तै ओठ, जिब्रो, गिजामा घाउ, अल्सर र बिस्तारै क्यान्सर हुने गर्छ । मुखका विभिन्न अङ्गमा हुने यस्ता क्यान्सर चुरोट, गुट्खा वा सुर्तीबाट हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्यकर्मीका अनुसार, लामो समयसम्म गुट्खा सेवन गर्ने व्यक्तिमा सबम्युकेस फाइब्रोसिस हुने गर्छ । जुन मुखमा हुने एक प्रकारको जटिल रोग हो । सुर्तीजन्य पदार्थमा हुने तत्त्वले मुखको छालामा असर गर्दै जान्छ । बिस्तारै राम्ररी मुख खोल्न नसक्ने, मुखको आकार सानो हुँदै जाने हुँदा खाना चपाउन नसक्ने, खाना निल्न समस्या हुनेजस्ता जटिलता देखिन्छन् ।
सुर्तीले मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर हुने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका छाती रोग विशेषज्ञ डाक्टर पुरु कोइरालाले बताए । गुट्खा सेवन गर्ने व्यक्तिमा पाचन प्रणालीमा समस्या देखिन्छ । खाना नली, आन्द्रा र पेटमा घाउ, अल्सर र क्यान्सर हुने उनको भनाई छ।
‘लामो समयदेखि सुर्तीजन्य पदार्थ सेवन गरिरहेको व्यक्तिमा श्वास–प्रश्वासको समस्या हुने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ, उनले भने, रक्तचाप बढ्ने र मुटुमा समस्या देखा पर्ने हुन्छ ।’ गुट्खा, खैनी वा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले आफ्नो स्वास्थ्यमा मात्र नभई आफू वरपरको वातावरण र परिवारलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउने कोइरालाको भनाई छ।
गुट्खा सेवन गर्नेले जथाभाबी थुक्ने गर्छन्, जसले वरपर बस्ने व्यक्तिमा समेत नराम्रो प्रभाव पार्छ । सार्वजनिक स्थान, घर, कार्यालय वा अन्य स्थानमा गुट्खा चपाइरहने वा जथाभाबी थुक्ने बानीले मानिसको व्यक्तित्वमा पनि नकारात्मक असर गर्छ ।
कानुनी व्यवस्था
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।
नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण ऐन, कानुन, कार्य–निर्देशिका र रणनीति सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) ऐन, २०६८ सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८ सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१ सुर्तीजन्य बस्तुको बक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ (संशोधन सहित)“
सुर्तीजन्य
पदार्थ नियन्त्रण बिक्री वितरण गर्न गराउन नपाउने कसैले पनि १८ वर्ष नपुगेका व्यक्तिलाई विक्री गर्न नपाउने गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन । आकर्षण हुने गरी विक्री स्थलमा सजावट गर्न नपाउने निःशुल्क वितरण वा उपहार दिन नपाउने व्यवस्था गरिएको छ ।