विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । विवादका बिच मुख्यमन्त्री बनेका थापाले माओवादीका दुई र काँग्रेसका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेशमा मन्त्री हुनेहरूमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् । यस्तै थापाले उदयपुरका रामकुमार खत्रीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।
उनी काङ्ग्रेसबाट मन्त्री भएका हुन् । उनी शेखर गुटका हुन् । शुक्रवार माओवादीको आन्तरिक विवादका कारण जीवन मन्त्री नियुक्त हुन सकेका थिएनन् । शुक्रवार थापाले जीवन आचार्यलाई मात्रै मन्त्री बनाउने तयारी गरेका थिए । गुटका कारण विवाद भएपछि उनको मन्त्री नियुत्ती रोकिएको थियो । उनी प्रचण्डका ज्वाँई हुन् ।
नव नियुक्त मन्त्री राजेन्द्र कार्की भने वर्षमान पुन गुटका हुन् । थापाले जीवन आचार्यलाई भने मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् । नव नियुक्त खत्री र कार्कीलाई भने मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
यस अघि शुक्रवार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
गठबन्धन दलहरूबिच एकाएक जना मात्रै मन्त्री बनाउने सहमति भए पनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए ।
उनले भने, ‘हामीले सबै दलबाट एक एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’
उनले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् । ‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिँदैनौ ।’