विराटनगर । पूर्व सहमति विपरीत माओवादीले राजेन्द्र कार्कीलाई कोशी प्रदेशको मन्त्री बनाएपछि पार्टी भित्र चरम विवाद उत्पन्न भएको छ । 

शुक्रवार भएको माओवादी संसदीय दलको बैठकमा उदयपुरबाट प्रदेश सभामा विजयी भएका नारायण बुर्जा मगरलाई मन्त्री बनाउने सहमति भएको थियो । 

२०७४ र ७९ को निर्वाचनमा विजयी भएका बुर्जाको ठाउँमा सङ्खुवासभाबाट विजयी भएका राजेन्द्र कार्कीलाई मन्त्री बनाएर पठाएपछि पार्टी भित्र देखिएको असन्तुष्टि सतहमा आएको छ । 

कार्कीलाई मन्त्री बनाएपछि बुर्जा मगरले सामाजिक सञ्जालमा जिल्लावासी मतदातालाई सम्बोधन गर्दै राजीनामा दिन परे तयार रहेको उल्लेख गरेका छन् । 

उनले भनेका छन् ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको नीति सिद्धान्त र पद्धतिभन्दा बाहिरको कुरा हो यो, त्यसैले मलाई मतदान गर्नुहुने आम जनतासँग सल्लाह लिनेछु,’ उनले ‘दुई–दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न नसकेकोमा आपत्ति जनाएका छन् । उनले लेखेका छन्, कोशी प्रदेश सरकार गठनप्रति मेरा विमति छ, आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाइसकेको छु ।

शुक्रवार प्रदेश इन्चार्ज राम कार्की सहित भएकोको बैठकमा दुई जना मन्त्री हुँदा जीवन आचार्य र बुर्जा मगरलाई मन्त्रीको रूपमा पठाउने सहमति भएको थियो । सहमति विपरीत माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कार्कीलाई मन्त्री बनाएर पठाएको भन्दै पार्टी भित्र चर्को  विरोध भएको छ । 

कार्कीले आइतबार बिहान विना विभागीय मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ खाएका छन् । 

हिक्मत कार्की नेतृत्वको सरकारमा पनि बुर्जालाई मन्त्री बनाउन पार्टी भित्र सहमति भएको थियो । तर कार्कीले माओवादीबाट दुई जना भन्दा बढी मन्त्री नबनाएपछि उनी मन्त्री हुन पाएनन् ।

हिक्मत कार्की नेतृत्वको सरकारमा माओवादीबाट तेह्रथुमबाट विजयी भएका दुर्गाप्रसाद चापागाईँ ९ सचिन ० र मोरङबाट विजयी भएका जीवन आचार्य मन्त्री भएका थिए । 

विवादका बिच मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा पनि दुर्गा प्रसाद चापागाईँको नेतृत्वमा माओवादी  सरकारमा जाने पार्टी भित्र सहमति भएको थियो । 

तर पार्टी भित्र गुटगत लडाइँ सुरु भएपछि चापाँगाँइले सामाजिक सञ्जालमा लेख्दै आफू मन्त्री नहुने घोषणा गरेका थिए । 

उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने तयारी थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदै सरकारको नेतृत्व गरेर जान लाग्दा पनि उनले मन्त्री नबन्ने घोषणा गरेका थिए  । 

पार्टी भित्रका नेताहरूको व्यवस्थापनका लागि आफू मन्त्री नहुने निर्णयमा पुगेको चाँपागाँईले शुक्रवार  बताएका थिए  । उनले भनेका थिए, पार्टीमा अरू नेताहरूले पनि अवसर पाउनु पर्छ । मन्त्री बन्ने चाहाना धेरैको भएपछि मैले मन्त्री नहुने निर्णय गरे । 

उनले आफू मन्त्री नभए पनि बुर्जालाई मन्त्री बनाउनु पर्ने अडान संसदीय दलको बैठकमा राखेका थिए । उनैले अडान राखेपछि शपथ खान ठिक्क परेका जीवन आचार्यको शपथ शुक्रवार रोकिएको थियो । केन्द्रका दबाब भन्दै सोही दिन आचार्यलाई मन्त्री बनाउने तयारी थियो । 

चापागाईँ वर्षमान पुन निकट नेता हुन् । उनी पुनको सचिवालयमा बसेर समेत काम गरिरहेका छन् । बुर्जा मगर पनि पुन समूहकै नेताका रूपमा चिनिन्छन् । 

कोशी प्रदेशमा माओवादीका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्माको आफ्नो आफ्नै गुटगत लाइन रहेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो भने जर्नादन शर्मा समूहका नेता हुन् । गुटगत राजनीतिका कारण आङ्वोले राजेन्द्र कार्कीलाई मन्त्री बनाएको आरोप पुन समूहका नेताहरूले लगाएका छन् । 

कार्की भने माओवादी विभाजन हुँदा मोहन बैद्य किरणसँगै पार्टी छाडेर गएका थिए । उनी केही समय  नेत्र विक्रम चन्द विप्लवसँग समेत उनको पार्टीमा गएका थिए । निर्वाचन ताका उनी पुन समूहसँग निकट भएका थिए । मन्त्री हुनुभएपछि आङ्वोसँग नजिक भएर अवसर लिएको पुन समूहका नेताहरूले आरोप लगाए ।

एकल रूपमा दल चलाएको आङ्वोलाई आरोप 

नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले संसदीय दलमा अरूलाई जिम्मेवारी नदिई एकल ढङ्गले दल चलाएको आरोप लागेको छ । 

कोशी प्रदेशमा माओवादी बाहेक अरू दलमा जिम्मेवारी बाँडफाँड भइसकेको छ । निर्वाचन सम्पन्न भएको महिनौँ हुँदा पनि माओवादीको संसदीय दलमा भने जिम्मेवारी बाँडफाँड भएको छैन । 

उहाँ सबै हो, उप नेता, प्रमुख सचेतक, सचेतक । असन्तुष्ट माओवादीका एक प्रदेश सभा सस्यले भने, दलको नेताले एकल ढङ्गले दल चलाउनु भएको छ । जिम्मेवारी कसैलाई पनि दिइएको छैन । 

आङ्वो मुख्यमन्त्री पाएको अवस्था बाहेक सरकारको नेतृत्व गर्दै मन्त्री भएर सरकारमा नजाने सर्तमा दलको नेता भएका थिए । 

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलमा जनार्दन शर्माको गुट अल्पमतमा परेपछि आङ्वो मुख्यमन्त्री बन्ने अवस्थामा बाहेक मन्त्री भएर नजाने सहमतिका साथ दलको नेता भएका थिए । १३ सदस्य प्रदेश सभा सदस्य माध्ये अधिकांश प्रदेश सभा सदस्य पुन समूहका थिए । 

अल्पमतमा परेको गुटलाई बलियो बनाउन आङ्वोले राजेन्द्र कार्कीलाई मन्त्री बनाएको वर्षमान समूहका ती प्रदेश सांसदले आरोप लगाए । 

नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आंङ्वोले मुख्यमन्त्रीसँग कुराकानी हुन नसक्दा माओवादीबाट दुई जना मात्रै मन्त्री पठाउनु परेकाले बुर्जा मगर छुट्नु भएको बताए । 

उनले माओवादीबाट तीन जना मन्त्री बनाउने कुरा भएको र तीन जना मन्त्री हुँदा बुर्जा मगर पनि मन्त्री बन्ने आङ्वोले बताए । 

उनले भने,समान्य मिस अन्डरस्टयान्डीङ्ग भएको हो सबै कुरा मिलिसक्यो ।  उनले के कारणले उप नेता र सचेतकको जिम्मेवारी नदिइएको हो भन्ने बारेको जवाफ भने दलको बैठकमा दिने बताए ।