सुनसरी । शहरमा ध्वनी प्रदुषण गराउने मोटरसाइकलका मोडिफाइड साइलेन्सर हटाउने ट्राफिक प्रहरीको अभियानमा स्थानिय युवाहरुले साथ दिएका छन् । स्थानिय युवाहरु आफैले स्वतस्र्फुत रुपमा  मोडिफाइड साइलेन्सर हटाएर ट्राफिक प्रहरीलाई साथ दिएका हुन । 

सोमबार स्थानिय युवाहरुको योगं इन्फिल्डर्स् क्लबले १५ वटा मोटरसाइकलका मोडिफाइड साइलेन्सर हटाएका छन् । क्लबमा आवद्ध सदस्यहरुले अब मोटरसाइकलको पुरानै स्वरुपमा सञ्चालन गर्ने बताएका छन् ।

ध्वनी प्रदुषण नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई सहयोग गर्दै क्लबले   ‘नो मोडिफाइड साइलेंसर’ अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । 

बजारमा सकारात्मक सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको योगं इन्फिल्डर्स् क्लबका अध्यक्ष रेक्स डाँगीले जानकारी दिए । स्वतस्र्फुत रुपमा यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डाँगीले अन्य बाइक राइडरहरुलाई पनि मोडिफाइड साइलेन्सर प्रयोग नगर्न आग्रह गरेका छन् । 

उनका अनुसार क्लबमा आवद्ध सदस्यहरु मध्ये २५ जनाले यस अघि नै मोडिफाइ साइलेन्सर हटाएर कम्पनीकै साइलेन्स प्रयोग गर्न थालेका छन् ।

‘नो मोडिफाइड साइलेंसर’ अभियान नै सुरु गरेको बताएका अध्यक्ष डाँगीले चाँडै विराटचौकमा यस किसिमको कार्यक्रम आयोजना गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार इटहरी,विराटचौक, धरान, विराटनगर लगायतका शहरमा क्लबका सदस्यहरु रहेका छन् । त्यहाँ पनि यो अभियान सञ्चालन हुनेछ । 

यता, यस किसिमको कार्य देशमै पहिलो पटक भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलय इटहरीका प्रहरी निरिक्षक बिकास थपलिया जानकारी दिए ।

क्लबको कामले ट्राफिक प्रहरीलाई सहयोग पुग्नुका साथै अन्य व्यक्तिहरुलाई पनि सकारात्मक सन्देश दिएको प्रहरी निरिक्षक थपलियाले बताए । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलयले कोशी प्रदेशमा  मोटरसाइकलका मोडिफाइड साइलेन्सर सहितका उपकरण निकाल्ने अभियान सञ्चालन सुरु गरेको छ । 

विशेष गरी तराईका मुख्य शहरमा यो अभियान अन्र्तगत मोटरसाइकललाई पक्राउ गरी मोडिफाइ गरिएका साइलेन्सर र अन्य उपकरण झिक्ने गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

  चर्को ध्वनी फ्याक्ने मोडिफाइड मोटरसाइकलका कारण शहरमा ध्वनी प्रदुषण बढेको जनगुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो ।