विराटनगर । सहकारीको नाममा ठगी गर्ने ३ जना पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थामा कार्यरत तीन जना जेल चलान भएका हुन् । वि.स. २०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत रहेका ४४ बर्षीय राजेन्द्र तामाङ र संस्थामा लेखा सहायक पदमा कार्यरत ४६ वर्षीय विश्वनाथ चौधरी र सहकारीका अध्यक्ष ४५ वर्षीय लाल बहादुर भण्डारीले बचत कर्ताको बचत हिनामिना गरेको आरोप लागेको छ। बचतकर्ता तारा खड्का समेत ९८ जना बचतकर्ताहरूको ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको कसुरमा पक्राउ परेका ३ जनालाई मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उल्लेखित प्रतिवादीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान पश्चात् मुद्दा चलाएको थियो ।