सुनसरी । हुलाकी राजमार्ग अन्तर्गत बिरिङ नदीको पुल सञ्चालनमा आएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत झापा-मोरङ खण्ड अन्तर्गत पुल निर्माण सुरु भएको १२ वर्षपछि सञ्चालनमा आएको हुलाकी राजमार्ग सडक आयोजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।
उक्त नदीमा ३ सय २४ मिटर लामो पुल निर्माणको लागि २०६८ असार १३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनी लामा-मैनाचुली जेभीकोले २०७१ पुस १० मा निर्माण गरिसक्नुपर्ने थियो ।
सम्झौता अनुसार १५ करोड ५० लाख २८ हजार ६ सय रुपैयाँमा ठेक्का पाएको उक्त पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्माण सुरु भएको १२ वर्षपछि मात्रै सञ्चालन आएको हो ।
केही दिन देखीको निरन्तरको वर्षाले नदीमा पानीको बहाव बढेर डाइभर्सन बगाएपछि साना सवारी मात्र चलाउने गरी पुल माथिबाट यातायात सञ्चालन गरिएको इन्जिनियर खतिवडाले बताए ।
पुलको शतप्रतिशत निर्माण कार्य सक्न अझै केही दिन लाग्ने भएकाले अहिलेलाई ठुलो भार क्षमताको सवारी सञ्चालनमा रोक लगाइएको खतिवडाको भनाई छ । सो क्षेत्रमा पुल नहुँदा स्थानीयहरू बर्खा याममा जोखिमपूर्ण यात्रा बाध्य थिए ।