इटहरी । छात्रवृत्ति विवरण नबुझाउने १५ वटा नीजि विद्यालयलाई इटहरी उपमहानगरपालिकाले गर्यो कारबाही गर्दै एक लाख जरिवाना गरेको छ ।
तोकिएको समयमा विवरण नबुझाउने १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो ।
आज इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जस मध्ये आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।
कारबाही गरिएका विद्यालयहरुले सात दिन भित्र तोकिएको जरिवाना तिर्न भनिएको छ । तोकिएको जरिवाना नतिरे विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।
नीजि विद्यालयहरुलाई छात्रवृत्ति विवरण बुझाउन पटक पटक गर्दै ३ पटक सूचना जारी गरेको थियो । तेस्रो पटक सूचना अनुसार असार २८ गते सम्म विवरण बुझाउने समय तोकिएको थियो ।
सो समयमा पनि वितरण नबुझाउने विद्यालयलाई कारबाही गरिएको उपमहानगरले जनाएको छ ।
छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ्् स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् ।
यस्तै, आधारभूत तहकै वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।
यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोडिङ् स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ ।